नेपाली ज्योतिष परम्पराका लागि एउटा ऐतिहासिक क्षण साक्षी बन्यो, जब युवा ज्योतिषविद् आशिष प्रसाद सिंखडाले कोलकातामा सम्पन्न २७औं अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलनमा पद्म भूषण पदक र N.C. Leheri Gold Medal प्राप्त गरे। भारतीय संस्था Indian Institute of Oriental Heritage र विश्व ज्योतिष विद्यापीठ को संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा सिंखडा नेपालका प्रतिनिधिका रूपमा सहभागी भएका थिए।
सम्मेलनमा भारतीय राज्य तमिलनाडुका गभर्नर रविन्द्र नारायण रवि, कोलकाताका विधान सभा सदस्य तनमय भट्टाचार्य, साथै भारतका उच्च तथा सर्वोच्च अदालतका न्यायमूर्तिहरू संबुद्ध चक्रवर्ती र प्रताप केआर रोय को उपस्थिति रही। यस्तै, सुमेरु पीठ, काशी का जगतगुरु शंकराचार्य स्वामी नरेन्द्र नन्द सरस्वती ले सम्मेलनमा विशेष आध्यात्मिक मन्तव्य दिएका थिए।
तीन दिनसम्म चलेको सम्मेलनमा पश्चिम बंगालका अग्नि मन्त्री, थुप्रै विश्वविद्यालयका कुलपति र उप-कुलपति, विभिन्न देशका राजदूतहरू, अनुसन्धानकर्ता, तथा वेद–तन्त्र र ज्योतिषशास्त्रका विद्वानहरूले सहभागिता जनाएका थिए। सम्मेलनको केन्द्रविन्दु विषयहरूमा सनातन धर्म, तन्त्रविद्या, ज्योतिषशास्त्र, पूर्वीय दर्शन, तथा वेद र विज्ञान जस्ता गहन र प्राचीन ज्ञान प्रणालीहरू रहेका थिए।
सम्मेलनको दोस्रो दिनमा पश्चिम बंगालकी लोकप्रिय अभिनेत्रीहरू चुम्की चौधरी र इन्द्राणी मजुमदार को उपस्थिति पनि विशेष आकर्षणको रूपमा रहेको थियो। अन्तिम दिन, विश्व ज्योतिष विद्यापीठका प्रमुख डा. रामकृष्ण शास्त्री ले "ज्योतिष, तन्त्रशास्त्र र पूर्वीय दर्शन" मा गहिरो प्रवचन दिएका थिए। समापन समारोहमा Indian Institute of Oriental Heritage की अध्यक्ष डा. गोपा शास्त्री ले “वेद र विज्ञान” सम्बन्धी मन्तव्य दिँदै सम्मेलनको औपचारिक समापन गरिन्।
नेपालका लागि आशिष सिंखडाको यो सफलता मात्र व्यक्तिगत उपलब्धि नभई, सम्पूर्ण नेपाली ज्योतिष परम्परा र सनातन ज्ञान प्रणालीको अन्तर्राष्ट्रिय पहिचान र सम्मानको सूचक हो। नेपाली समाजमा अहिले पनि ज्योतिषलाई गम्भीर र सशक्त ज्ञानको रूपमा लिनेहरूको संख्या थोरै भए पनि, सिंखडाको सम्मानले नयाँ पुस्तामा यसप्रति चासो र गर्व बढाउने विश्वास गरिएको छ।
नेपाली सनातन परम्परा, तन्त्रशास्त्र, र खगोल–ज्योतिषीय ज्ञानको सन्देश अन्तर्राष्ट्रिय मंचमा पुर्याउने कार्यमा आशिष सिंखडाको योगदान प्रशंसनीय छ। नेपालका विभिन्न ज्योतिष, वेद र तन्त्रशास्त्रमा रुचि राख्ने विद्वान तथा अनुयायीहरूले उनलाई बधाई तथा शुभकामनासहित यो सफलताको स्वागत गरेका छन्।